Jilla Ban Notis

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्धारा रामग्राम स्तूपको अवलोकन ।

0 33

परासी,चैत–४
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपको अवलोकन भ्रमण गर्नुभएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहनुभएका नेता नेपालले आज रामग्राम नगरपालिका–७ स्थित स्तूप क्षेत्रको अवलोकन गर्दै यहाँको महत्व, इतिहास तथा विकासको पहलको विषयमा जानकारी पनि लिनुभयो । सङ्घीय सांसदसहितको भ्रमण टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मैत्तेय तथा अन्य पदाधिकारी एवं रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मी लगायतको टोलीले उहाँहरुलाई स्वागत गर्नुभयो । स्तूप क्षेत्रको महत्व र विकासका पहलबारे जानकारी गराउँदै कोषका उपाध्यक्ष त्रिपाठीले रामग्रामको गुरुयोजना बनिसकेको र अब जग्गा अधिग्रहणको प्रक्रिया शुरु गर्न लागेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “अहिले यहाँ रहेको स्तूप क्षेत्रको चैत्यको मौलिक स्वरुपलाई जोगाउँदै यसको ५०० मिटर वरपरसम्म अधिग्रहण गर्ने योजना छ, गुरुयोजनाअनुसार ११४ बिघा जग्गा आवश्यक पर्छ, हाल १४ बिघा क्षेत्रफल रहेकाले करीब १०० बिघा क्षेत्रफल जग्गा खरिद गर्नुपर्ने अवस्था छ ।” तत्काल जग्गा अधिग्रहणका लागि रु एक अर्ब ६० करोड बजेट आवश्यक पर्ने बताउँदै उहाँले ढिलासुस्ती भएमा यसको लागत बढ्न सक्नेतर्फ सचेत गराउनुभयो । विश्व सम्पदा सूचीमा समावेशको प्रक्रियामा रहेको यो क्षेत्रमा जग्गा अधिग्रहणपछि विहार तथा ध्यानका लागि आवश्यक संरचनाहरु निर्माण गरिने उपाध्यक्ष मैत्यले बताउनुभयो । गुरुयोजनाअनुसार यहाँ संरचना बनाउन छ अर्ब बजेट आवश्यक पर्ने भएकाले पहल गरिदिन पनि उहाँले पूर्वप्रधानमन्त्री नेपाललाई आग्रह गर्नुभएको थियो । जग्गा अधिग्रहण गरी संरचना बन्न शुरु भएमा यहाँ विदेश तथा निजी क्षेत्रबाट लगानी बढ्दै जाने उहाँले उल्लेख गर्नुभयो । हाल यहाँ कोरिया, थाइल्यान्ड लगायतले लगानी गरिरहेका छन् । रासस

Leave A Reply

Your email address will not be published.