Jilla Ban Notis

पार्टी भित्रको झगडाले सरकारका राम्रा काम ओझेलमा परे ः मन्त्री चौधरी

0 17

मोहन पौडेल

परासी, ३० चैत

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले पार्टी भित्रको झगडाले सरकारका राम्रा काम ओझेलमा परेको बताउनुभएको छ । जनआन्दोलन २०६२/०६३ का शहीद विष्णुप्रसाद पाण्डेको पन्ध्रौँ स्मृति दिवस, शहीद विष्णुप्रसाद पाण्डे स्मृत्ति प्रतिष्ठानको १४ औँ साधारणसभा तथा पाचौँ अधिवेशनलाई आज सुनवल–५ वनकट्टीस्थित शहीद विष्णु पाण्डे पार्कमा सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त कुरा बताउनुभएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री चौधरीले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि मुलुकमा सुशासन कायम हुँदै जानुका साथै विकास निर्माणले तीव्र गति लिईरहेको उहाँको जिकिर थियो । राजनीतिक नेतृत्वमा रहेको प्रतिवद्धता र स्थीरताका कारण यो सम्भव भएको भन्दै मन्त्री चौधरीले आफूहरुले सत्ताको आडमा नाजायज फाइदा नलिएको र सत्ताको दुरुपयोग पनि नगरेकोले कानून, विधि र प्रणाली अनुसार मुलुक अघि बढीरहेको बताउनुभयो । प्रहरी, सेना, निजामति लगायतका क्षेत्रमा सेवा प्रवेश गर्दा भनसुन गर्नुपर्ने अवस्था कम हुँदै जानु यसको उदाहरण भएको उहाँको भनाई थियो ।

सरकारले संविधान बमोजिम नै सबै कार्य गर्दै आएकोले संविधान विपरित कोही पनि नजाने बताउनुभयो । वर्तमान सरकार रहीरहने वा बर्हिगमन हुने भन्ने कुरा जनता समाजवादी पार्टीको हातमा रहेको उहाँको भनाई थियो । मन्त्री चौधरीले शहीद विष्णु पाण्डे पार्कलाई नमूना पर्यटकीय स्थल र देशभरका शहीदहरुको थलोको रुपमा विकास गर्न आफूले प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको पनि बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भगवती भण्डारी, नेकपा एमालेका जिल्ला सहसंयोजक डोलराज भण्डारी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, शहीद पत्नी भिमा पाण्डे,सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, प्रतिष्ठानका संस्थापक अध्यक्ष रामचन्द्र भण्डारी, सुनवल–३ का वडाध्यक्ष कर्णबहादुर सेन, महाकवि देवकोटा क्याम्पस सुनवलका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष प्रेम न्यौपानेको स्वागत, सचिव दुर्गानारायण सुवेदीको सञ्चालन रहेको उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन र आगामी योजना, कोषाध्यक्ष कृष्णप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक दिपक पौडेलले लेखा प्रतिवेदन पेश गर्नुभएको र सभाले सर्वसम्मत पारित गरेको प्रतिष्ठानका सहसचिव देवराज श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच प्रतिष्ठानको आगामी चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्व पनि चयन हुँदैछ । ४९३ आजीवान सदस्य रहेको प्रतिष्ठानको २५ सदस्यीय कार्यसमिति गठन हुनेछ । नयाँ नेतृत्वका लागि अहिले निर्वाचन प्रक्रिया चलिरहेको निर्वाचन मण्डलका संयोजक थानप्रसाद गैरेले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.