Jilla Ban Notis

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग

0 41

परासी, २९ वैशाख
पश्चिम नवलपरासीका नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाहीको माग गर्दै दबाबमूलक खबरदारी सभा गरेका छन् ।  परासीको बुद्धचोकमा भेला भएर उनीहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा भीआईपीहरु समेत संलग्न भएको आरोपमा पक्राउ पर्न थालेपछि सरकारले दोषीलाई उन्मूक्ति दिन सक्ने भन्दै खबरदारी गरेका हुन् ।
नागरिक समाज नवलपरासीको आयोजनामा भएको उक्त दबाबमूलक खबरदारी सभामा बोल्ने वक्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उम्काउन षडयन्त्र हुन सक्ने भन्दै कुनै पनि दोषी उम्कन नपाउने र निर्दाेष फस्न नहुने भन्दै खवरदारी गरेका थिए । सभामा बोल्दै नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवारले उक्त प्रकरणमा संलग्न जो सुकै भएपनि निष्पक्ष छानविन गरी कानूनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
यस किसिमको भ्रष्टाचारले अन्तराष्ट्रिय स्तरमै नेपालको बदनाम भएको भन्दै अध्यक्ष सैथवारले त्यसमा संलग्न दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने भन्दै ध्यानाकर्षण गराउनुभयो । नेपालको प्रतिष्ठामै आँच आउने गरी भ्रष्टाचारमा संलग्न दोषीलाई हैदसम्मको कारवाही गरियोस् भनेर दबाबमूलक कार्यक्रम शुरु गरिएको नागरिक समाजका अध्यक्ष सैथवारले बताउनुभयो ।
नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति विक्रम यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर हुने जुनसुकै दल र पदको भएपनि कडा कारवाही गर्नुपर्ने बताउनुभयो । यस कार्यमा संलग्नलाई कारवाही गर्न सरकार पछि हट्न नहुने भन्दै त्यसका लागि नवलपरासीबाट पनि दबाब अभियान शुरु भएको उहाँले बताउनुभयो ।
नागरिक समाजका संस्थापक अध्यक्ष एवं भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा संलग्न भएर अरबौँ घोटला गर्ने दोषीलाई कारवाही गर्न जिल्ला जिल्लाबाट दबाब अभियान आवश्यक रहेको बताउनुभयो । उक्त प्रकरणमा दोषी ठहररिने व्यक्तिलाई कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष छानविन गरी कारवाही गर्न उहाँले सरकारसँग जोडदार माग गर्नुभयो ।
यस आन्दोलनले प्रहरी र सरकारमा रहेर राम्रो काम गर्नेलाई हौसला पनि बढ्ने उहाँको भनाई थियो । राप्रपाका नेता रामभवन यादवले भ्रष्टाचार र अपराधमा संलग्न जुन सुकै पार्टीका भएपनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । यो आर्थिक अपराध मात्र नभई राष्ट्रघाट नै भएकोले यसका दोषीहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा नागरिक अगुवा एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको नागरिक समाज नवलपरासीका अभियान्ता अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.