Jilla Ban Notis

ध्वनि प्रदुषण र गहुँको छ्वालीमा आगो लगाउने कार्यमा प्रतिवन्ध लगाउन उपभोक्ता मञ्चको माग

0 30

परासी, १७ चैत
पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित जिल्लाभर नै विशेषगरी रातिको समयमा ठूलो स्वरमा गीत बजाउने कार्य प्रतिबन्ध लगाउन उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीले माग गरेको छ ।
विवाह र अन्य धार्मिक कार्यमा ठूला साउन्ड सिस्टम जोडेर र डीजेमार्फत रातिमा चर्को आवाजमा गीत संगीत बजाउँदा जनजीवन प्रभावित भएको भन्दै मञ्चले आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र जिल्लाका सातै स्थानीय तहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, जिल्ला सचिव मोहन पौडेल र रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदीद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा रातको समयमा चर्काे स्वरमा धार्मिक प्रवचन तथा संगीत बज्दा बालक, बृद्वबृद्वा, सुत्केरी, बिरामी, विद्यार्थीहरु सुत्नै नसक्ने जनगुनासो बढेको उल्लेख छ ।
जिल्लामा आयोजना गरिने विभिन्न सामाजिक, राजनीतिक र आध्यात्मिक कार्यक्रमहरुमा लाउड स्पीकर र डीजेको प्रयोग गर्दा अत्याधिक ध्वनि प्रदुषण हुने भएकोले यस्ता कार्यलाई बन्द गर्नुपर्ने र तोकिएको मापदण्ड भित्र रहेर कार्य गर्नुपर्ने मञ्चका केन्द्य्रिय सदस्य ज्ञवालीले माग गर्नुभयो । डिजेको चर्को आवाजले स्वास्थ्य र वातावरणमा नकारात्मक असर परिरहेकोले यसलाई बन्द गर्नुपर्ने आवाज उठेको हो ।
चर्को आवाजमा बजाइने डिजेले ध्वनिप्रदुषण भई मुटु र तनाव जस्ता मानसिक स्वास्थ्य समस्या उत्पन्न हुने चिकित्सक बताउँछन् । प्रमुख जिल्ला अधिकारी पाठकले राति १० बजेपछि विहान पाँच बजेसम्म चर्को आवाज आउने गरी कुनै पनि काम गर्न निषेध गरिएको बताउनुभयो । उहाँले प्रहरी परिचालन गरी ध्वनि प्रदुषण रोक्ने बताउनभुयो ।
यस्तै उपभोक्ता हित संरक्षण मञ्चले गहुँबाली भित्राएपछि नल अर्थात छ्वालीमा आगो लगाउने कार्य पनि प्रतिवन्ध लगाउन माग गरेको छ । खेतमा छ्वालीमा आगो लगाउँदा वायु प्रदुषण हुनुका साथै माटोको उर्वराशक्ति कमजोर हुने र मित्र जिवको पनि विनाश हुने भएकोले आगो लगाउने कार्य रोक्नुपर्ने मञ्चको माग छ ।

Leave A Reply

Your email address will not be published.