Jilla Ban Notis

दुर्गा माध्यमिक विद्यालयमा महायज्ञ आयोजना गरीदै ।

0 25

सन्तोष थापा
बुटवल , २४ पुस
दुर्गा माध्यमिक विद्यालयले श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञ गर्ने भएको छ । विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले सो कुराको जानकारी गराएको हो । रुपन्देहीको तिलोत्तमा–१४ दुर्गानगरमा अवस्थित विद्यालयले समयको माग अनुसार जीवन उपयोगी, प्राविधिक र अंग्रेजी माध्यमबाट गुणस्तरिय शिक्षाका लागि माघ १ गतेबाट ९ गतेसम्म महायज्ञ गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंं श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञ मूल तयारी समितिका अध्यक्ष तारा प्रसाद छन्तेलले जानकारी दिनुभयो । अध्यक्ष छन्तेलका अनुसार विद्यालयमा समयसापेक्ष प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन गर्नका लागि महायज्ञ गर्न लागिएको हो । विद्यालयले आगामी शैक्षिक शत्रबाट अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले बताउनु भयो ।  महायज्ञलाई सफल बनाउनका लागि २ सय १ सदस्यीय मूल तयारी समिति तथा ४२ वटा उपसमिति गठन गरिएको महायज्ञ मूल तयारी समिति संरक्षक टिकाराम पाण्डेले जानकारी गराउनु भयो । यज्ञ सम्पन्न गर्नका लागि करिब पन्ध्र लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । यज्ञबाट न्युनतम पनि करिब पचास लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा दिग्दर्शक वाचनशिरोमणी पण्डित दीपक सापकोटा प्रमूख वाचकको रुपमा रहनुहुनेछ । महायज्ञका अवसरमा भण्डारा, दैनिक आरती, व्रतवन्ध, तुलादान, लाखबत्ति, ग्रहशान्तिका लागि दानदातव्यहरुलाई विद्यालयले आह्वान गरेको छ । आगामी माघ १ गतेबाट सुरु हुने यज्ञमा शोभा कलश यात्रा गरेर यज्ञको शुभारम्भ गरिने बताइएको छ । यज्ञ अवधीभर हरेक दिन विहान ७ बजेबाट ११ बजेसम्म नित्यपूजा, भागवत पाठ पारायण, वेद, शप्तसति, रुद्रि, जप गरिने छ भने १२ बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन गरिने आयोजकले जानकारी दिएको छ । माघ ९ गते विहान पुस्तकमा तिलार्पण, मूल घडाको अभिशेष र पूर्णाहुति गरेर यज्ञ समापन हुनेछ । यज्ञको जानकारी तथा तयारी छलफल कार्यक्रममा यज्ञ मूल तयारी समितिका संरक्षकहरु गणपति चन्द्रमणी पौडेल, श्यामलाल खरेल, महासचिव तथा विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर केसी, सचिव सुमित्रा घिमिरे, कोषाध्यक्ष निल प्रसाद पुन लगायतले बोल्दै यज्ञ तयारीका विषयमा जानकारी गराउनु भएको थियो । दुर्गा माध्यामिक विद्यालय वि.स. २०४५ सालमा स्थापना भएको हो । यस अघि विद्यालयले २ पटक महायज्ञ सञ्चालन गरेर विद्यालयको स्तर उन्नती गर्ने कार्य गरेको छ ।

Leave A Reply

Your email address will not be published.