Jilla Ban Notis

तिलोत्तमाका वडाहरु धमाधम शुन्य खुला पोलिथिन घोषणा ।

0 14

तिलोत्तमा, माघ २५

तिलोत्तमा नगरपालिका वडा नम्बर ४ र ६ लाई शनिबार शुन्य खुला पोलिथिन घोषणा गरिएको छ । यसअघि वडा नं. ९, २, ८ र १६ लाई शुन्य खुला पोलिथिन घोषणा गरिएकोमा शनिबार थप दुई वडाहरु शुन्य खुला पोलिथिन घोषणा गरिएको हो । सिम नेपालको आयोजनामा शनिबार आयोजित फरक–फरक कार्यक्रमबीच वडा नम्बर ४ र ६ लाई शुन्य खुला पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि वडा नं. ४ मा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए ।

कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले वडाध्यक्ष दिवाकर ढकाल र सुखदेव न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभयो । अभियानमा नगरबासीले देखाएको सक्रियताको प्रशंसा गर्दै उहाँले अब यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले सबैको सहकार्यबाट शुन्य खुला पोलिथिन अभियानलाई सार्थक बनाउँदै अघि बढिएको बताउनुभयो ।

शुन्य खुला पोलिथिन घोषणा भएसँगै वडाहरुले अब पोलिथिनजन्य फोहर सडक, सार्वजनिक स्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिइने जनाएका छन् । त्यसक्रममा अभियानमा सहभागी भएर दिनरात पोलिथिनजन्य फोहोर बटुल्न लागिपर्ने टोल विकास संस्था, आमा समूह, क्लव, संघ–संस्थालाई सम्मान गरिएको थियो । वडाहरुलाई शुन्य खुला पोलिथिन घोषणा गर्दै अभियन्ता निपेश ढाकाले तिलोत्तमा नगरपालिकालाई फागुन महिनाभित्रै शुन्य खुला पोलिथिन घोषणा गर्नेगरी अभियान चलाइरहेको बताउनुभयो ।

पोलिथिनले उच्च प्रदुषण गर्ने भन्दै सीम नेपालले तिलोत्तमाबाट सुरु गरेको यो अभियान मुलुकभर नै चलाउने जनाएको छ । सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएपछि तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान चलाइएको हो । शुन्य खुला पोलिथिन घोषणा गरिएका वडाहरुमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना समेत गर्न थालिएको छ ।

यसैबीच शनिबार छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणालीको आह्वानमा किसानहरुले शाखा कुलोहरुमा सरसफाई गरेका छन् । गत शनिबार मुख्य नहर सफाई गरेका किसानहरुले यसपटकको शनिबार शाखा कुलोहरु सफाई गरेका हुन् । यस्तै शनिबार नैं भुपू सैनिक टोल विकास संस्था र कटानी भुल्का टोल विकास संस्थाको आयोजनामा सुखौरा खोला सरसफाई गरिएको नगर कार्यपालिका सदस्य राधा शाहीले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.