Jilla Ban Notis

तलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सक सहितको सेवा सुरु ।

0 16

वि.पि. गौतम
तिलोत्तमा, पुस २९

रुपन्देहीको तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो ।  सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन् ।  १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो । सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले जग्गाको समस्या समाधान हुनेवित्तिकै निर्माण अघि बढ्ने प्रष्टाउनुभयो ।  चिकित्सकीय सेवा सुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले जग्गाको स्वामित्व स्वास्थ्यचौकी मातहतमा आएपछि १५ शैंयाको अस्पताल बनाइने बताउनुभयो । स्वास्थ्यचौकीले उपयोग गरेको जग्गालाई चौकी मातहत ल्याउन आफू लागिपरेको बताउँदै उहाँले स्वास्थ्यचौकीलाई अस्पताल बनाउन नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका सबै जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
५ नं. प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणका लागि निर्देशनालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । चिकित्सकीय सेवा सुरु गरेर तिलोत्तमाले राम्रो कामको प्रारम्भ गरेको बताउँदै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी, करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे, स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष कृष्ण पौडेललगायतले बोल्नुभएको थियो । नगर प्रमुख जागेश्वरी चौधरीको अध्यक्षता, स्वास्थ्यचौकी ईञ्चार्ज कमल पाण्डेयको सञ्चालन तथा शिक्षा उप–सचिव गंगाराम आचार्यको स्वागतमा कार्यक्रम भएको हो । निःशुल्क चिकित्सकीय सेवा सुरु गरिएको सेमराबजार स्वास्थ्य चौकीमा प्रयोगशाला समेत छ । हाल स्वास्थ्य चौकीमा डा. विनोद बढई कार्यरत रहनुभएको छ ।  सोही अवसरमा बर्थिङ सेन्टरमा सुत्केरी भएकाहरुलाई प्रोत्साहन स्वरुप थप पाँच सय रुपैंयाँ प्रदान गरिएको थियो । तिलोत्तमा नगरपालिकाले शुन्य होम लेडिभरीलाई प्राथमिकता दिँदै आफ्नै स्रोतबाट बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.