Jilla Ban Notis

उपभोक्ता मञ्चले गरायो विभिन्न क्षेत्रको ध्यानाकर्षण ।

0 28

गौरीशंकर जयसवाल
परासी, १० माघ 

उपभाक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासी शाखाले जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीको सेवामा कटौती भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले जिल्ला समितिको बैठक मार्फत अस्पतालको सेवा कटौतीको विषयमा ध्यानाकर्षण जनाउँदै सेवा विस्तारमा जोड दिएको छ ।  केही सञ्चारमाध्यममा अस्पतालका एनटी विशेषज्ञ डाक्टर सरुवा गराई गएको तथा केही डाक्टरले पनि विकल्प खोजिरहेको समाचार बाहिरीएपछि उपभोक्ता मञ्चले चासो व्यक्त गरेको मञ्चका जिल्ला संयोजक रामचन्द्र पौडेलले बताए । मञ्चले  अस्पतालको सेवाप्रवाह तथा अस्पतालका गतिविधिको विषयमा पृथ्वीचन्द्र अस्पतालका अध्यक्ष जगदीश चौधरी र निमित्त प्रमुख डा. मोहम्मद नुरुल होदाको ध्यानाकर्षण गराउँदै आवश्यक छलफल पनि गरेको अध्यक्ष पौडेलले बताए । अस्पतालको सेवा विस्तारमा कुनै अफ्ठ्यारो भए आफूहरु सहयोग र सहजीकरण गर्न तयार रहेको तर अस्पतालमा नियमित विशेषज्ञ सेवा तथा सेवाग्राही मैत्री व्यवहार गर्न मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले ध्यानाकर्षण गराएका थिए ।
अस्पतालका अध्यक्ष चौधरीले अस्पतालको कुनै सेवा कटौती नभएको बरु विस्तारमा जोड दिएको बताउँदै विभिन्न रोगको उपचारका लागि थप डाक्टरहरु तथा स्वास्थ्यकर्मीहरु भर्ना गरिएको जानकारी दिए । निमित्त प्रमुख होदाले मिडियामा आएको समाचारमा सत्यता नभएको बताउँदै एनटी रोग विशेषज्ञ डाक्टरको पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी नभएकोले अन्यत्र गएको तर सेवा नरोकिएको जानकारी दिए । 

 उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवाली, जिल्ला अध्यक्ष रामचन्द्र पौडेल, जिल्ला समितिका अन्य पदाधिकारी, रामग्राम नगर समितिका अध्यक्ष यमकुमारी सुवेदी लगायतको टोली अस्पतालमै पुगेर ध्यानाकर्षण गराएको छ ।  मञ्चको  बसेको बैठकले पछिल्लो समय बजार अनुगमन सुस्ताएको भन्दै अनुगमनलाई निरन्तरता दिन जिल्ला प्रशासन तथा स्थानीय तहलाई आग्रह गरेको छ भने विदाको समयमा जिल्लामा सरकारी गाडिको चरम दुरुपयोग भईरहेको तथा अनाधिकृत रुपमा प्रयोग भईरहेको भन्दै नियन्त्रण गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण पनि गराएको छ । 

   यसैगरी राष्ट्र बैंकको निर्देशन विपरित बैंकहरुले ठूलो अन्तरमा व्याजदर लिने गरेको गुनासो आएको भन्दै मञ्ले ध्यानाकर्षण भएको जनाएको छ । यस्तै सरकारले तोकेको अवधि भित्र उखु मिलहरुले किसानको रकम भुक्तानी नगरेकोले तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।  उपभोक्ता हित संरक्षण मञ्चले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक, सदरमुकाम विकास कार्यक्रम अन्र्तगत निर्माण भईरहेको सडक लगायतका निर्माण कार्यमा ढिलाई भएको भन्दै निर्माणलाई तीव्रता दिन जोडदार माग गरेको छ भने निजी तथा सामुदायिक विद्यालयमा विभिन्न बहानामा चर्काे शुल्क उठाउने गरिएको गुनासो आम अभिभावकबाट आएको भन्दै तत्काल अनुगमन तथा नियन्त्रण गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको मञ्चका जिल्ला सचिव मोहन पौडेलले जानकारी दिए  ।

Leave A Reply

Your email address will not be published.