Jilla Ban Notis

अगुवा एवं नेकपा नेता चौधरीको निधनप्रति  दुःख व्यक्त ।

0 17

परासी, १६ जेठ
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले नेकपा पश्चिम नवलपरासीका जिल्ला सचिवालय सदस्य सीताराम चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।  नेकपा जिल्ला कमिटीले आज उहाँकै निवास रामग्राम–४ मा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपाका प्रदेश सहईन्चार्जसमेत रहनुभएका मन्त्री चौधरीले सीताराम चौधरीको निधनले आफू स्तब्ध भएको र पार्टीले अपुरणीय क्षति व्यहोरेको उल्लेख गर्नुभयो ।  सीताराम चौधरी समाजसेवा र थारु अगुवा नेताको रुपमा समेत स्थापित रहेको बताउँदै पार्टीले ईमान्दार योद्धा गुमाउनुपरेको बताउनुभयो । पार्टीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले स्वर्गीय चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष आजादको अध्यक्षता तथा मन्त्री चौधरीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव तुलसी पासीले गर्नुभएको थियो । क्यान्सर रोगबाट पीडित सीताराम चौधरीको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको थियो ।  यस्तै नेकपा रामग्राम नगर कमिटीको आयोजनामा आजै पार्टीका सदस्य रामजतन हरिजनको पाँचौँ दिनको पूण्य तिथि पारेर श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा रामग्राम नगर ईन्चार्ज बुद्धन अलिको अध्यक्षता तथा मन्त्री चौधरीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य खगेश्वर पन्थीले गर्नुभएको थियो । गम्भीर विरामी भएपछि उपचारको क्रममा भरतपुर अस्पतालमा हरिजनको निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.