Jado Notish Bardaghat

प्रदेशमा ग्रामिण पर्यटनः सम्भावना र समस्याहरु ✍️ युवराज कंडेल

0 129

✍️ युवराज कंडेल

 

के हो ग्रामिण पर्यटन ?

गाउँघरमा बसेर गाउँकै परिवेशमा त्यहाँकै सुविधाहरु उपयोग गरि घुमफिर गर्नु नै ग्रामिण पर्यटन हो । गाउँका परम्परागत ब्यवहार, त्यहाँको मौलिक संस्कृति, खेतीपाती वा दैनिक व्यवहारको अवलोकन, गाउँको सेरोफेरोको भ्रमण अनि गाउँमै उत्पादन गरिएका सामाग्रीहरु  खाँदै गाउँकै घरमा बस्ने अनि गाउँमै उत्पादन भएका कोशेलीहरु बोकेर जाने गतिविधिहरुग्रामिण पर्यटन भित्र पर्छन । ग्रामिण पर्यटन साँस्कृतिक र पर्या–पर्यटनको मिश्रण हो ।

यसमा व्यवसायिक पर्यटन क्षेत्रको संलग्नता रहदैन र पर्यटकीय लाभको ठुलो हिस्सा ग्रामिण क्षेत्रका वासिन्दाहरुमै रहन्छ । शहरका होटेलमा बसेर गाउँको उत्पादन चाख्ने, गाउँका मानिसलाई  बोलाएर सास्कृतिक झलक दे्खाउँने र गाउँघरमा घुम्न जाने कामलाई ग्रामिण पर्यटन भित्र राखिदैन ।

 

प्राथमिकतामा ग्रामिण पर्यटन

राष्ट्रिय पर्यटन नीति २०६५ ले ग्रामिण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रुपमा अघि बढाउने नीति समावेश गरिएको छ । मुलुकको विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेशी,आदिवासी जनजाती लगायतका विपन्न समुह समेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न उक्त नीति समावेश गरिएको हो ।

सरकारले ग्रामिण पर्यटन उद्योग प्रवर्द्धनका लागि २० वटा कार्यनीतिहरु निर्धारण गरेको छ । ग्रामीण पर्यटनलाई गरीबी निबारणसँग आवद्ध गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई पर्यटन प्रबद्र्धनसँग आबद्ध गरी पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पु¥याउने, समुदायमा स्थापित आदिवासी जनजातिको परम्परागत ज्ञानमा आधारित सम्पदाहरुको संरक्षण गरी पर्यटन विकास एवं प्रवद्र्धनमा आवद्ध गराउने,स्थानीय समुदायहरुद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको विक्री वितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्ध जस्ता कार्यनीतिहरु बनाएर राष्ट्रिय पर्यटन  नीतिले ग्रामिण पर्यटनलाई ग्रामिण क्षेत्रमा स्वरोजगार र आम्दानीका अवसरहरु प्रदान गर्ने सोच राखेको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु तर्फ आकर्षित पर्यटकलाई पर्या–पर्यटन, ग्रामीण पर्यटनसँग आवद्ध गराई उच्च आय वर्गका पर्यटकलाई ग्रामिण पर्यटन तर्फ आकर्षित गराउनका लागि आवश्यक प्याकेज बनाउन पर्यटन व्यवसायीलाई प्रोत्साहन दिइने कुराहरु पर्यटन नीतिमा समेटिएका छन् । पन्ध्रांै योजना (आर्थिक वर्ष २०७९/२०८० , २०८०/८१) मा पर्यटन उपजको विकासमा स्थानीय साधन र उत्पादनलाई प्रोत्साहित गरिने, पर्यटकीय क्षेत्रको दिगो तथा प्रभावकारी व्यवस्थापनका लागि प्रदेश, स्थानीय तह र समुदायसँग सहकार्य गरिने, समुदायमा आधारित ग्रामीण एवम् होमस्टे पर्यटनको विस्तार गरी यस क्षेत्रबाट प्राप्त लाभलाई जनस्तरसम्म पु¥याइने तथा प्रत्येक स्थानीय तहमा स्थानीय विशेषता सहितको पर्यटकीय गन्तव्यको विकास र होमस्टेको व्यवस्था गर्न स्थानीय तहसँग सहकार्य गरिने कार्यक्रमहरु समावेश छन् भने लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनामा पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग जोड्ने नीति उल्लेख छ ।

यस अन्तर्गत पर्यटन क्षेत्रको लागि आवस्यक जनशक्ति उत्पादन गर्ने र स्थानीय समुदायलाई पर्यटनमैत्री बनाउन क्षमता वृद्धिका कार्यक्रमहरु संचालन गर्ने, कृषिमा सफल र फरक पहिचान बनाएका गाउँहरुलाई होमस्टेसंग जोडी कृषि पर्यटनलाई अघि बढाउन प्रोत्साहन गर्ने, थारु र मगर लगायतका सस्कृतिलाई प्रवद्र्धन गर्दै सम्भाव्य वस्तीहरुमा होमस्टे संचालन गर्ने रणनीतिहरु उल्लेख गरिएका
छन् । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्यमा ग्रामिण पर्यटन प्रवर्द्धन गर्न होमस्टेलाई स्थानीय सस्कृती, भेषभुषा, मौलिकता र परम्परागत पेशा, अर्गानिक तथा घरेलु उत्पादनमा आवद्ध गर्न संचालकको क्षमता विकास गर्ने, विभिन्न जातजातिको धर्म र मौलिक सस्कृतिको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनको लागि “एक जिल्लाः एक सास्कृतिक ग्राम“ को अवधारणा अनुसार साँस्कृतिक ग्राम निर्माणको लागि बजेट विनियोजन गरिएको छ ।

संघीय र लुम्बिनी प्रदेश सरकारले मात्र नभएर प्रदेशका धेरैजसो पालिकाहरुले आफ्नो गाउँवस्तिमा पर्यटक पु¥याएर पर्यटकीय लाभ लिने कुराहरु आफ्ना नीति तथा कार्यक्रमहरुमा समावेश गर्दै आएका छन् । स्थानीय स्तरमा स्वागतद्वार निर्माण, पार्कहरुको निर्माण र संरक्षण , मठमन्दिरको जिर्णोद्वार र सजावट गरेर पर्यटन आकर्षित गर्ने काम भैरहेका छन् ।

ग्रामिण पर्यटनको अवस्था

लुम्बिनी प्रदेशमा ग्रामिण पर्यटनको प्रवाह र लाभ सम्बन्धमा कुनै तथ्यांक उपलब्ध छैन । तरपनि शहर तथा तराईदेखि नजिकका पहाडी क्षेत्रमा पछिल्ला वर्षहरुमा घुमफिर गर्नेहरुको लस्कर हेर्दा प्रदेशमा ग्रामिण पर्यटन बामे सर्दै गरेको सहज अनुमान लगाउन सकिन्छ । गर्मि छल्न र छोटो समय रमाईलो गर्नको लागि माथागढ़ी, नुवाकोट, चरंगे, दोभान क्षेत्र, नरपानी छेउछाउ, स्वर्गद्वारी लगायतका क्षेत्रमा घुम्न जानेहरु भेटिन्छन् । रुकुमको तकसेरा, मैकोट, लुकुम, महत, रोल्पाको होलेरी, थवांग र जलजला, गुसल्मीको रेसुंगा, ठिमुरे, अर्घाखाचीको बल्कोट ,पालि, खाँचिकोट, अर्घा, निगाली, पाल्पाका बल्ढेंगगढी, रामपुर, झडेवा, रहवास, नवलपरासीको सुस्ता, संसारकोटसम्म घुमफिर गर्न पुग्ने र सोधखोज गर्नेहरुको संख्या बढेको छ । पछिल्लो समयमा रुपन्देहीमा मत्स्य पर्यटन पनि चलेको छ । आक्कलझुक्कल विदेशी पर्यटकहरु गाउँघरका पाखापखेरामा घुमेको देखिन्छ ।

फेसुक र टिकटकमा भाईरल हुनको लागि गाउघर दुल्नेहरु र युट्युबमा भ्युज बढाउन गाउँवस्तिसम्म पुग्नेहरुले पनि ग्रामिण पर्यटनको सम्भावनाहरु उजागर गरिरहेका छन् । लुम्बिनी प्रदेशमा भएको भौगोलिक र साँस्कृतिक विविधता, प्राकृतिक स्रोत र साधनको प्रचुरता जस्ता कारणले गर्दा प्रत्येक गाउँवस्तीहरु पर्यटनको लागि उपयुक्त देखिएका छन् । यसैलाई भजाउनको लागि सरकार र समुदाय अग्रसर भैरहेका छन् । पर्यटन र समग्र आर्थिक क्षेत्रको लागि यो सुखद संकेत पनि हो ।

समस्याहरु

बजार छेउछाउका गाउवास्ती,खोलानाला र वन पहाड घुम्ने स्वदँेशी घुमुवाहरुको संख्या बढिरहेपनि त्यसबाट ग्रामिण क्षेत्रले लाभ प्राप्त गर्न सकेको छैन । ग्रामिण क्षेत्रमा घुमघाम गर्न जानेहरुको कारणले कुखुरा बाख्रा र रक्सी विक्री बढेको भएपनि त्यो आम्दानी समाजको आर्थिक प्रणालीमा अट्न सकेको छैन र दिगो पनि छैन । ग्रामिण क्षेत्रमा घुमफिर गर्न पुग्नेहरुलाई अधिकतम समय ग्रामिण क्षेत्रमै भुलाउने र उनीहरुलाई स्थानीय उत्पादनले आतिथ्य सत्कार गर्ने र उपहारको रुपमा स्थानीय सामाग्रीहरु किन्न लगाउने काम भएको छैन ।

स्थानीय वासिन्दाहरुलाई पर्यटन सेवा सम्बन्धि ज्ञान र सिप उपलब्ध नगराईएको कारणले गर्दा गाउँघर घुम्न पुगेका पर्यटकहरुलाई सेवा सुविधा प्रदान गरेर लाभ लिने कुरामा ग्रामिण क्षेत्रमा वासिन्दाहरु धेरै नै पछी छन् । अचेल पहाडी क्षेत्रबाट बसाई सरेर जाने प्रवृति बढिरहेको छ । खेतीपाती गर्ने र पुराना सम्पदा अनि सस्कारको जगेर्ना गर्ने काम घट्दै गएको छ. कतिपय वस्तीहरु मानवविहिन समेत भैरहेका छन् । यसले गर्दा ग्रामिण कला, सस्कृति, सभ्यता र मौलिकता हराउदै समेत गएको छ । ग्रामिण पर्यटनको लागि यो ठुलो चुनौती समेत हो । ग्रामिण क्षेत्रमा पर्यटकहरु पुग्ने ग्यारेन्टी नभएको कारणले मानिसहरुले पर्यटकमुखी उत्पादन गर्न र व्यवसायमा लगानी गर्न सकिरहेका छैनन् । यहि कारणले ग्रामिण क्षेत्रमा घुमफिर गर्न, अध्ययन अनुससन्धान गर्न र रमाईलो गर्न पुग्ने धेरै आन्तरिक र बाह्य पर्यटकहरुले भोकभोकै घुम्नुपर्ने र रातविरात कष्ट झेल्दै शहर फर्कनुपर्ने बाध्यता समेत छ । केहि पालिकाहरुले होमस्टे संचालन गर्न र कोशेली घर संचालन गर्न केहि प्रयत्न गरेपनि पर्यटकसम्म जानकारी नपुग्दा बन्द हुन् पुगेका छन् । विदेशी पर्यटकको पहिलो बसाई शहरमा हुने गर्छ र उनीहरुको सम्पर्क शहरका होटेल र टुसर अपरेटरहरुसंग हुन्छ । विदेशी पर्यटकलाई शहरका ठुला होटेलमा राखेर लाभ लिन पल्केका पर्यटन व्यवसायीहरुले ग्रामिण क्षेत्रमा पर्यटकलाई पठाएर र उतै बसाएर लाभ लिने कुरा अहिलेसम्म सोच्न सकेको देखिदैन । यहि कारणले गर्दा ग्रामिण पर्यटनमा रमाउने र खर्च गर्ने विदेशी पर्यटकहरु ग्रामिण क्षेत्रले देख्न मुस्किल भैरहेको छ ।

 

हिड्नुपर्ने बाटो

ग्रामिण पर्यटनको मुख्य उद्धेश्य पर्यटकलाई गाउँघरका पाखा पखेरा, वनजंगल, रहनसहनमा आकर्षित गरेर गाउँमा बास बस्न बोलाएर आतिथ्यता प्रदान गरेर्र त्यसबापत आर्थिक लाभ लिनु हो । पर्यटकहरु केहिदिन गाउँकै परिवेशमा भुलेर गाउँका उत्पादनहरु प्रयोग गर्ने र कोशेलीको रुपमा गाउँका उत्पादनहरु लैजान सकेमा मात्र गाउले पर्यटनबाट लाभ लिन सक्छ । गाउँका कुनै भट्टीमा बसेर रक्सि खादै होहल्ला गरेर फर्कने वा फोटो खिचेर फर्कनेहरू गाउँमा पुग्दा स्थानीयले लाभ लिन पाउदैनन । ग्रामिण पर्यटनलाई लाभदायक बनाउनको लागि स्थानीय वासिन्दाको अपनत्व हुनेगरी सहभागितामुलक पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गनुपर्छ । कसैले पर्यटकलाई घुमाएर, कसैले बास दिएर, कसैले कोशेली बेचेर अनि कसैले आफ्ना उत्पादनहरु चखाएर लाभ लिन सक्ने गरि पर्यटनका प्याकेजहरु ल्याउनुपर्छ । पर्यटकलाई जतिसक्दो गाउँमा भुल्ने र रमाउने अवस्था निर्माण गनुपर्छ । यसका लागि सम्पदाहरुको मौलिक रुपमा संरक्षण, वातावरणिय स्वच्छता, सरक्षित र मर्यादित बसाई, सहज यातायात, सामाजिक कुप्रथाको अन्त्य जस्ता कार्यहरु गनुपर्छ ।

आफ्नो वरपरको बारेमा वर्णन गरि पर्यटकलाई आकर्षित गर्न सक्ने जनशक्ति तयार गनुपर्छ । शुरुवातमै धेरै पर्यटकलाई गाउँमा पुर्याउनं नसकिएला तर गाउँ छोडेर अन्यत्र गएकाहरुले मात्र पनि प्रयास गर्ने हो भने धेरै पर्यटकलाई गाउँमा पु¥याउन सकिन्छ । शहरी क्षेत्रमा रहेका र विदेशी पर्यटकसंग सहज सम्पर्क राख्न सक्ने पर्यटन व्यवसायीहरुले पनि ग्रामिण पर्यटनलाई टुर प्याकेजमा समावेश गर्ने र गाउँघर, डाँडापाखा घुम्न प्रेरित गर्ने हो भने नेपालमा विदेशी पर्यटकको बसाई अवधि लम्बाउन र खर्च गर्ने दरमा वृद्धि गर्न सकिनेछ । शहरी पर्यटन व्यवसायीहरुले ग्रामिण पर्यटनलाई सौता नठानेर सहयात्रीको रुपमा व्यवहार गर्ने र सेवा सुविधाको वितरण, ज्ञान तथा सिपको आदान प्रदानमा सहकार्य गर्नु आवस्यक छ । व्यवसायिक प्रतिष्ठान र संघसस्थाका बैठक, तालिम, सम्मेलन गाउँमा राख्ने, विद्यार्थीहरुलाई विभिन्न गाउँमा घुसमाएर अन्तरसास्कृतिक घुलमेल गराउने, ठुला पर्यटन प्याकेज र संरक्षण क्षेत्रमा आधारित पर्यटन प्याकेजमा कम्तिमा एउटा ग्रामिण क्षेत्रलाई पनि जोड्ने हो भने ग्रामिण क्षेत्रमा पर्यटक पु¥याउनं र पर्यटकीय लाभ लिन पक्कैपनि सकिनेछ ।

[email protected]

Leave A Reply

Your email address will not be published.